राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

१९ सिटका लागि सातै प्रदेशमा मतदान हुने तालिका छ। आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भोली बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

मतदान सकिएपछि दलहरूको बैठक बसेर भोलि नै मतगणना गरिने पौडेलले बताउनुभयो। उहाँका अनुसार कुनै अवरोध नभए भोलि नै मत परिणाम सार्वजनिक गरिने छ।

यस्तै, आयोगले मतदानका लागि आठवटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ।

सात प्रदेशमा कुल २ हजार २५ जनामतदाता छन्। यस निर्वाचनमा ५३२ प्रदेशसभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। राष्ट्रिय सभाका २० सदस्यको चार वर्षे कार्यकाल आगामी फागुन २१ मा सकिँदैछ।

जसमा नेकपा (एमाले)का आठ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का चार–चार, नेपाली कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० मध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुने छन् भने १९ जना मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन्।

Back to top button