खोप केन्द्रका लागि मात्र माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानका लागि मात्र माघ १५ देखि २० गतेसम्म देशभरका विद्यालय खुल्ने भएका छन्। उक्त अवधिमा पठनपाठन भने नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो‚ ‘माघ १५ देखि २० गतेसम्म विद्यालयमै खोप लगाउनुपर्ने भएकाले खोल्ने निर्णय भएको छ।’ स्थानीय तहको समन्वयमा विद्यालय खोलिने उहाँले बताउनुभयो । भीडभाड नगराउने गरी खोप कार्यक्रम सञ्चालन गर्नका लागि सबै कक्षा कोठा पाँच दिन खुला गरिने छ।

यस्तै, पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर‚ माघ १५ पछि विद्यालय खुला गर्ने निर्णय गरेपछि सर्वसाधारण भने भौतिक उपस्थितिमै पठनपाठन हुने बुझाइमा थिए।

सरकारले माघ १५ पछि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप पहिलो र दोस्रो डोज दिने तयारी गरेको छ। यसअघि पनि सोही उमेर समूहलाई फाइजर खोप पनि दिँदै आएको छ।

Back to top button