जितुसँग कमेडि चलचित्र गर्दै साम्राज्ञी, डा. भोला रिजाल फेरी चलचित्र बनाउँदै

काठमाडौं । निर्माता, गायक तथा गीतकार डा. भोला रिजालले चलचित्र बनाउने हुनुभएको छ । कुनै समयमा हिट चलचित्र निर्माण गरेका रिजालले दुई दशक लामो अन्तरालपछि पूनः चलचित्र निर्माणमा फर्किनुभएको हो ।

उहाँले अहिले बनाउन लागेको चलचित्र ‘ह्यारीकि प्यारी’ हो। ह्यारीकि प्यारीको हिजो पर्वतको भुक देउरालीमा मुहुर्त गरी छायँकन शुरु गरिएको छ।

यस चलचित्र ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ डा.भोला रिजालका दन्त चिकित्सक पुत्र डा. कपिल रिजालले निर्देशन गर्दैहुनुहुन्छ । डा. कपिल रिजालको फिचर चलचित्र भने ‘ह्यारीकि प्यारी’ डेब्यु चलचित्र हो। नव निर्देशक डा. कपिल रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म चलचित्रको छायँकन हुनेछ भने बाँकी काम काठमाडौंमा गरिनेछ।

उहाँका अनुसार युनिट पर्वत प्रस्थान गर्नुअघि युनिटमा सहभागी सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको थियो भने खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ।

डा. कपिलले चलचित्र पूरै पारिवारका साथ बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा निर्माण हुने प्रष्ट्याउनुभयो । छायँकन शुरु गर्नुअघि जितु नेपाल र विजय बरालले मुहुर्त सट दिनुभएको थियो । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उहाँको प्यारीका रुपमा देखिनुहुनेछ ।

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गर्दैहुनुहुन्छ । फिल्म डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति र निर्देशन डा. कपिल रिजालको रहनेछ।

चलचित्रमा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ।

Back to top button