मल कारखाना स्थापना गरे सरकारले सहयोग गर्छ :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नु भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गर्नु भएको हो ।

उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भयो ।

उनले भन्नुभयो , ‘अफगानिस्तानमा अत्यन्तै खाद्य शंकट छ। त्यसमा यूएनएसमेतले अफगानीहरू भोकै मर्नथाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद।’

उहाँले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गर्नु भयो ।

Back to top button