उठिबास नलगाउन एमालेको खबरदारी

भूमिप्रसाद पाठक,

पथरी शनिश्चरे ।  नेकपा (एमाले) १० नं. वडा कमिटी, पथरी शनिश्चरे नगरपालिकाले आज एउटा विज्ञप्ति जारी गर्दै नागरिकको उठिबास नलगाउन खबरदारी गरेको छ ।

‘सट्टाभर्ना जग्गा खाली गर्ने गराउने’ उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय मोरङले चलानी नम्बर ७१४३ नम्बर रहेको तथा सहायक प्रमुख जिल्ला अधिकारी, महेशराज तिम्सिनाले हस्ताक्षर गरेको पत्र माघ २ गते वडातहसम्म पत्राचार गरिएको थियो ।

जारी पत्रप्रति असन्तुष्टि जनाउँदै सरोकारवालाको नेतृत्व गर्दै आएको एमाले पार्टीका वडाध्यक्ष पर्वत थापाले विज्ञप्ति जारी गर्दै नागरिकको बसोबासको नैसर्गिक अधिकारमाथि धावा बोलेको भन्दै विरोध गर्नुभएको छ । उहाँले सरकारी संयन्त्रको यो पत्रले निम्त्याउन सक्ने सम्भावित खतराबारे समयपूर्व नै जानकारी गराउन विज्ञप्ति जारी गरिएको उल्लेख गर्नुभएको छ ।

सट्टाभर्नाका नाउँमा पत्राचार भएपनि त्यसको आशय स्थानीय भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्याको अन्तिम टुंगो लाग्न नपाउँदै भविष्यमाथि नै बञ्चरो हान्ने गर्ने काम गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँको बसोबास र बसोबासको प्रकृति सट्टाभर्ना मात्र नभई झोडाफडानीसँगै जेलिएका कैयौं समस्याको छिनोफानो नगरेसम्म भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न नसकिने औल्याउँदै एमाले वडा कमिटीले भोगचलन गर्नेको पूर्णः स्वामित्वसहित व्यवस्थापन नगर्दासम्म समस्याको वस्तुगत पहिचान र समाधान हुन नसक्ने जनाएको छ ।

परमादेशी गठबन्धनको सरकारको चरित्र उदाङ्गो भइसकेको छ भन्दै पछिल्लो कदम निश्चित सम्भ्रान्त घरानाको पक्षपोषण गर्नुसिवाय अरु केहि नभएको टिप्पणी गरिएको छ । आममानिसलाई घरबारविहिन बनाउने उद्देश्यबाट प्रेरित पत्रचार आफैंमा असंवेदनशिल रहेको एमाले वडा कमिटीका सचिव सञ्जय राईंले बताउनुभएको छ ।

यस्तै यो कदमलाई नसच्याए पुर्खौदेखि भोगचलन गर्दै आएको जमिनको रक्षाका लागि सडक आन्दोलन समेत गर्ने चेतावनी समेत दिइएको छ ।

Back to top button