मधेश प्रदेशका मुख्यमन्त्रीलाई जनमत पार्टीको ज्ञापनपत्र

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई सीके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाहाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राउतलाई आज ज्ञापनपत्र बुझाएको हो ।

आफ्नो पार्टीको नेतृत्वमा देशभरिकै किसानहरु विभिन्न मागसहित एक महिनादेखि आन्दोलित भइरहेको भन्दै ज्ञापनपत्रमा किसान आन्दोलनका एजेण्डा यथाशीघ्र पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्था सुनिश्चित गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने र त्यो नसके सिंचाईका लागि बिजुली निःशुल्क गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, बेमौसमी हावाहुरी र वर्षाले बालीनालीमा भएको क्षतिवापत राहत उपलब्ध गराउनुपर्ने, बालीको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानका लागि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनालीको बीमा हुने सुनिश्चित गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ ।

Back to top button