टेलिसिरियलले पाउन थाले युट्युबमा करोडौं भ्युज

काठमाडौं । चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् । यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोडौंले हेर्न थालेका छन् ।

युट्युबमा टेलिसिरियल हेर्ने दर्शकहरु बढेसँगै युट्युबकै लागि मात्र पनि थुप्रै टेलिसिरियल निर्माण भइरहेका छन् । यसअघि नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक ‘भद्रगोल’ले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको थियो । दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा एक करोडौं पटक हेरिएको छ ।

अहिले फेरि अर्को टेलिसिरियल ‘गाह्रो छ हो’ले युट्युबमा एक करोड भ्युज पाएको छ । यस्तै, ११ महिनाअघि सार्वजनिक ‘गाह्रो छ हो’को एपिसोड १४ लाख युट्युबमा एक करोड बढी हेरिएको हो ।

‘भटभटे माइला’ उपनामले चिनिँदै आएका हास्य कलाकार बेगम नेपाली र मोडल रियाशा दाहालको लेखन, मनराज श्रेष्ठको निर्देशन रहँदै आएको टेलिसिरियलमा बेगम र रियाशा नै मुख्य भूमिकामा देखिँदै आउनुभएको छ ।

त्यस्तै, सुशील पोखरेल, विनोद राई, मनराज श्रेष्ठ, राजकुमार देवकोटा लगायतको यस टेलिसिरियलमा अभिनय रहँदै आएको छ । टेलिसिरियलले युट्युबमा एक करोड भ्युज पाएसँगै निर्माण टिमले सामाजिक सञ्जालमा खुशी साटेको छ ।

टेलिसिरियल लेखन तथा अभिनय गर्दै आएकी रियाशाले लेख्नुभएको छ, ‘हाम्रो ‘गाह्रो छ हो’ सिरियललाई ११ महिनामा युटयुबमा एक करोडभन्दा धेरै पटक हेरिदिएर करोड क्लबमा पुर्‍याइदिनुहुने सम्पूर्ण भगवानरूपी दर्शकहरुप्रति ‘गाह्रो छ हो’ परिवार हार्दिक नमन अनि सम्मान गर्न चाहन्छौं । यो माया, हौसला, साथ, सपोर्ट, सल्लाह सुझाव सधैं पाइराखौं । हामीलाई साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं ।’

यो टेलिसिरियलको हालसम्म ८२ भाग सार्वजनिक भइसकेको छ । यो टेलिसिरियल एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

Back to top button