किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिल्यो :बस्नेत

विराटनगर । राष्ट्रियसभा चुनावमा गोलाप्रथाबाट विजयी बनेका गोपाल बस्नेतले किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिलेको बताउनु भएको छ ।

गठबन्धन दल १४४ मत अगाडि हुँदा पनि एमालेका गुरु बरालसँग बराबरी मत आएपछि गोलाप्रथाबाट निर्वाचित भएका बस्नेतले गुरु आत्मानन्दको आशिर्वाद पाएको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रियसभा चुनाव हुनुभन्दा २ दिनअघि भेटेका इलामको लारुम्बास्थित किराँत धर्मगुरुको आशिर्वादले पनि आफूलाई गोलाप्रथामा विजयी गराउन सहयोग पुगेको उहाँले बताउनु भयो । धर्मगुरुले ‘जित्छस्’ भने पनि डर लागिरहेको उहाँले बताउनु भयो ।

बस्नेतले कांग्रेसभित्र अन्तर्घात नभएको दाबी समेत गर्नु भयो । कांग्रेसभित्र अन्तर्घात भएको भनी गठबन्धन दलभित्रकै अन्य पार्टीहरूले निष्कर्ष निकालेका बेला उहाँले यस्तो प्रतिक्रिया दिनु भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा १ नम्बर प्रदेशमा अन्यतर्फ बस्नेत नेकपा एमालेका गुरु बराललाई गोलाप्रथामा पाखा लगाएर निर्वाचित हुनु भएको हो । बराल र बस्नेतले बारबारी ४ हजार ४८८ मत ल्याउनु भएको थियो ।

अर्कोतर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनु भएको छ । उहाँले चुनाव जित्ने विषयमा आफू पहिल्यैदेखि ढुक्क रहेको समेत बताउनु भयो । मतदाताले विवेक पुर्‍याएको प्रतिक्रिया समेत उहाँले दिनु भयो । मतदाताले कामको मूल्यांकन गरेको उहाँले बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले संविधानको रक्षा गर्नेलाई जनप्रतिनिधिले मतदान गरेको बताउनु भएको छ । । राष्ट्रिय सभामा आफ्नो काम पनि संविधानको रक्षा गर्ने भएको उहाँले बताउनु भयो ।

Back to top button