पहाडी जिल्लाको जनसंख्या घट्दो, प्रदेशका ९ जिल्लाको जनसंख्या १० वर्ष अघिको भन्दा कम

विराटनगर । पहाडी जिल्लाको जनसंख्या घट्दो क्रममा रहेको पाइएको छ । पछिल्लो १० वर्षको अवधिमा जनसंख्या बढ्नुको सट्टा घटेको पाइएको हो । प्रदेश १ का ९ वटा जिल्लामा १० वर्ष अघिको भन्दा कम जनसंख्या रहेको तथ्याङ्क आएको छ ।

प्रदेश १ का पहाडी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको जनसंख्या २०६८ सालभन्दा २०७८ सालमा कम भएको पाइएको हो। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालभन्दा कम छ। जसमा प्रदेश १ का मात्रै ९ जिल्ला छन् ।

धनकुटाको जनसंख्या २०६८ सालमा १ लाख ६३ हजार ४ सय १२ रहेकामा २०७८ सालमा १ लाख ४९ हजार ९ सय ८४ कायम भएको छ। तेह्रथुममा १ लाख १ हजार ५ सय ७७ बाट २०७८ सालमा ८९ हजार १ सय २५ मा झरेको छ।

ताप्लेजुङमा २०६८ मा १ लाख २७ हजार ४ सय ६१ जना रहेकामा २०७८ मा १ लाख २० हजार ३ सय ५९ मा झरेको छ। पाँचथरमा १ लाख ९१ हजार ८ सय १७ बाट १ लाख ७४ हजार ४ सय १९ कायम भएको छ।

यसैगरि इलाममा २०६८ सालमा २ लाख ९० हजार २ सय ५४ रहेको जनसंख्या २०७८ सालमा २ लाख ८० हजार ५ सय ६५ मा झरेको छ। भोजपुरमा १ लाख ८२ हजार २ सय ५९ रहेको जनसंख्या २०७८ सालमा १ लाख ५८ हजार ९ सय ९१ मा झरेको छ।

सोलुखुम्बुमा २०६८ सालमा १ लाख ५ हजार ८ सय ८६ जना रहेकामा २०७८ सालमा एक लाख चार हजार ७६८ मा झरेको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

यसैगरि खोटाङमा २०६८ सालमा भन्दा ३० हजार ९७२ जनाले जनसंख्या कम भएको छ। खोटाङमा यसअघिको जनगणना अनुशार २ लाख ६ हजार ३ सय १२ जना रहेको जनसंख्या नयाँ गणना अनुसार १ लाख ७५ हजार ३ सय ४० कायम भएको छ ।

ओखलढुंगामा २०६८ सालको जनसंख्या १ लाख ४७ हजार ९ सय ८४ रहेकोमा २०७८ मा १ लाख ४० हजार ९ सय १४ मा सिमित बनेको छ ।

प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ। संखुवासभाको जनसंख्या १० वर्षमा ३०४ जना बढेर १ लाख ५९ हजार ४६ पुगेको छ। प्रदेशका तराईका जिल्लाहरुमा जनसंख्या बृद्धि भएको छ ।

ति मध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको पाइएको छ। झापामा १० वर्षमा १ लाख ८१ हजार ४ सय ४० ले बढेर जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको छ। मोरङको जनसंख्या एक लाख ८१ हजार ८१६ जना बढेर ११ लाख ४७ हजार १ सय ८६ पुगेको छ।

सुनसरीमा १० वर्षको अवधिमा २९ हजार २६ जना बढेर जिल्लाको कुल जनसंख्या ९ लाख ३४ हजार ४ सय ६१ पुगेको छ भने उदयपुरमा ३ लाख १७ हजार ५ सय ३२ रहेकोमा बढेर ३ लाख ४२ हजार ७ सय ७४ पुगेको छ।

Back to top button