चुनाव टार्न खोज्नु प्रतिगामी कामः कमल थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्न खोज्नु संविधान विपरीतको प्रतिगामी काम हुने बताउनुभएको छ । आज सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै कुनै पनि बहानामा चुनाव सार्न नहुने बताउनुभएको हो ।

नेपालको संविधानले कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना नगरेको भन्दै उहाँले लेख्नुभएको छ,‘संविधानमा तीनतहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन ।

यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानून बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानून संशोधन गर्ने तयारीमा लागिरहेको बेला नेता थापाले खबरदारी गरेका हुन् ।

Back to top button