रेल्वे कम्पनीमा तालाबन्दी

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ ।

आज रेल्वे स्टेशनमा रहेको कम्पनीको कार्यालयमा पुराना कर्मचारीलाई अनाहकमा निकालिएको भन्दै संघर्ष समितिले तालाबन्दी गरेको हो । दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले हिजोदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन् ।

संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आएपनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको समितिको गुनासो रहेको छ ।

महाप्रबन्धक झाले रेल सञ्चालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम लिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनका लागि भन्दै ज्यालादारीमा १ सय ५१ जना कर्मचारीलाई नियुक्त गरी तालिमसमेत दिएका थिए । सो तालिमका लागि रेल्वे कम्पनीले झण्डै १ करोड १५ लाख रुपैयाँ खर्च गरेको थियो ।

स्टेशन मास्टर पदका तालिम लिएका मनोज यादवले आफूहरुको नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुनलाई टेकेर नयाँ कर्मचारी भर्ना गरेको भन्दै प्रश्न गर्नुभएको छ । आन्दोलनकारीहरुले पुरानो नियुक्तिलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

Back to top button