माओवादी केन्द्रका मन्त्रीसँग प्रचण्डको छुट्टै बैठक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहान भएको छलफल सकारात्मक नभएपछि दबाब दिन प्रचण्डले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।

आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट जनसेवाका कामलाई कत्तिको प्रभावकारी रुपमा जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल गर्न भन्दै बैठक बोलाइए पनि प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेको गुनासोसहित घेरावन्दीका योजना बनाउन मन्त्रीहरुलाई बोलाइएको हो ।

प्रचण्डको सचिवालयले सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भएको थियो । बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरुको सहभागिता थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रचण्ड र माधवकुमार नेपालसँगको छलफलमा निर्वाचनको बिषयलाई लिएर कांग्रेसभित्र खेल्ने काम नगर्न चेतावनी दिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाको प्रतिक्रिया पछि निराश हुनुभएका प्रचण्डले त्यसलगत्तै दलका मन्त्रीहरुसँग बैठक बस्नुभएको हो ।

Back to top button