स्थानीयतहको निर्वाचन समयमै गर्न नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएशनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर नसार्न आग्रह गरेको छ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धि कानूनले नगरेको स्पष्ट पार्दै समयमै निर्वाचन गर्न आग्रह गरेको हो ।

बारले वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन हुने स्मरण गराएको छ । हिजोआज स्थानीय तह निर्वाचन सम्बन्धि विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण गराएको छ ।

बारले कुनै आग्रह, पूर्वाग्रहका कारण निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हुने बताएको छ । बारले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन ।

कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’

Back to top button