सरकारले बढायो खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया

काठमाडौं । सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभएको हो ।

आयोग गठन पछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महशुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताउनुभयो ।

त्यस्तै राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रकृया अगाडि बढाइएको पनि मन्त्री चौधरीको भनाइ छ। खानेपानीका स्रोतहरुका संरक्षण अभियान सञ्चालन गर्न एकीकृत जलश्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याइने भन्दै मन्त्री चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणको लागि पानीको परिक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीको लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ। सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनको लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम पनि ल्याउने तयारी छ ।’

मन्त्री चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पुरा गरी ठेक्का सम्झौता गरिसकिएको बताउनुभयो ।

त्यसैगरी, एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने उहाँको भनाइ छ।

मन्त्री चौधरीले तराई मधेशका जिल्लाका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थापनका लागि तराई मधेश ट्युवेल तथा स्वच्छता विशेष कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगत विभिन्न आयोजनाका १५ योजनाहरुको खरिद प्रक्रिया सम्पन्न भई निर्माण चरणमा रहेको पनि उहाँको भनाइ छ।

Back to top button