दूधको मूल्य तत्काल बढाउन किसानको माग

चितवन । चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन्। उनीहरुले तत्काल मूल्यवृद्धि नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

हिजो चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो। दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ।

सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ।

उहाँका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२ दशमलव ५० पर्ने गरेको छ। पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उहाँले बताउनुभयो ।

अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर रु ६३ किसानको पर्ने गरेको छ। त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ।’

सरकारले तीन वर्षदेखि दूधको मूल्य नबढाएका कारण किसान अफ्ठयारोमा परेका छन् । हाल जिल्लामा ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ।

Back to top button