धरानको वीपी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार मधेस प्रदेशको सप्तरी जिल्ला हनुमाननगर कंकालिनी–८ की ७६ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

डा. पोखरेलले श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जानकारी दिनुभयो । हिजो आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो ।

मृत्तकको उपचारका क्रममा हिजो राति साढे १० बजे मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिनुभयो । प्रतिष्ठानमा हालसम्म ४३४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण हालसम्म प्रदेश १ मा ७ सय ६२ महिला र १ हजार ४ सय ६५ पुरुष गरी कुल २ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।

Back to top button