सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । हिजो १ सय ५ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर २ हजार ८ सय ७१ दशमलव शून्य ५ विन्दुमा झरेको छ।

आज माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको सेयर घटेको छ। यस्तै, बीमा, उत्पादन र विकास बैंकको सेयर उच्च अङ्कले ओरालो लागेको छ। आज २ सय २५ वटा कम्पनीको १ करोड १ लाख कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै एचआइडिसिएलको ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको सेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ।

समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको सेयर भने १० प्रतिशतले बढेर सर्किट लागेको छ।

Back to top button