हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

काठमाडौं । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।

त्यो अस्पतालले अहिले दैनिक २ सय ५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सोहि अस्पतालले जनाएको छ ।

अमेरिकी सरकारको सहयोगमा सङ्घीय स्वास्थ्य मन्त्रालयले रु ३ करोडको लागतमा दैनिक १ सय २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सोहि अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो ।

उद्योग सङ्घ मकवानपुरले १ सय १० अक्सिजन सिलिन्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताउनुभयो ।

अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौँडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उहाँको भनाइ रहेको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।

हाल अस्पतालमा ९ जना कोरोना संक्रमणका बिरामी उपचारत रहेको अस्पतालका सुपरिटेण्डेण्ट डा.रामचन्द्र सापकोटाले बताउनुभयो । मकवानपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ ।

Back to top button