एमालेको चेतावनी, १४ सांसदलाई बर्खास्त नगरेसम्म संसद अरोध हट्दैन, भ्रम नछरौं

काठमाडौं । नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ। आफ्नो पार्टीबाट अलग भएका १४ सांसद बर्खास्त नगरेसम्म लगातार संसद बैठक अवरुद्ध पार्ने एमालेले चेतावनी दिएको हो।

यस्तै, एमालेका महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जाल मार्फत लेख्नुभएको छ, ’जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन। भ्रम नछरौँ।’

एमालेले सभामुखलाई बर्खास्त गरे एमसीसी पास गर्ने शर्त अघि सारेको भन्ने समाचार आएपछि महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो। भदौँ २३ गतेबाट सुरु प्रतिनिधिसभाको नवौं अधिवेशन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका पटक–पटक स्थगित भएको छ।

भदौँ १ गते एमालेले आफ्ना १४ सांसदलाई पार्टीबाट निष्कासन गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले अध्ययन र परामर्श भन्दै त्यसको सूचना टाँस नगरेर समय बिताइदिएका कारण एमाले सभामुख सापकोटाविरुद्ध आक्रोशित छ।

एमालेले निष्कासन गर्ने निर्णय गरेकामध्ये माधवकुमार नेपालकै नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ र त्यसविरुद्ध एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

एमालेले सभामुखको निष्पक्षतामै प्रश्न उठाएर उहाँको राजीनामा मागिरहेको छ र त्यसकै निम्ति सदन अवरोध गरिरहेको छ। यसको असर राष्ट्रिय सभामा पनि परेको छ।

Back to top button