निर्वाचनको माग र मन्त्रालय विभाजनको विरोधमा विराटनगरमा सडक पत्रकार सम्मेलन

निशा दाहाल,

विराटनगर । स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने माग र प्रदेश १ सरकारले मन्त्रालय विभाजन गर्न लागेको विरोधमा आज विराटनगरमा सडक पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनले संयुक्त सडक पत्रकार सम्मेलन गर्दै संघीय तथा प्रदेश सरकारको तिब्र आलोचना ब्यक्त गरेका छन् । सम्मेलनमा वितरीत विज्ञप्तिमा वर्तमान देउवा सरकार निर्वाचन घोषणा नगरेर प्रतिगमनको बाटोमा अग्रसर भइरहेको आरोप लगाइएको छ ।

यस्तै राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकार पनि जनविरोधी, राष्ट्रियहित विराधी र संघियताको मर्ममा नै प्रहार गर्ने गर अघि बढिरहेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ,‘ ७ वटा मन्त्रालय फुटाएर गठबन्धन सरकार टिकाउनकै लागि १२ वटा मन्त्रालय र १५ वटासम्म मन्त्रीको संख्या पु¥याउने खेलमा लाग्नु निन्दनीय र खेदजनक छ ।’

पूँजीगत खर्च भन्दा साधारण खर्च अत्यधिक रहेको महत्वपूर्ण आयोजनाहरुलाई अलपत्र पारिएको, कालोबजारी ब्याप्त हुँदा पनि प्रदेश सरकार भने भागबण्डामा लागेको भन्दै जनवर्गीय संगठनले तिब्र बिरोध गरेका छन् । जनस्वास्थ्य जस्तो संवेदनशिल विषयमा समेत सरकार मौन रहेको आरोप लगाउँदै बजारमा सिटामोलको समेत चरम अभाव हुनु दुःखद भएको उल्लेख गरिएको छ ।

यस्तै मूल्यबृद्धिले जनतालाई आक्रान्त बनाएको र कृषक मलखाद नपाएर भौंतारिँदा पनि सरकार मुकदर्शक बनेको आरोप पत्रकार सम्मेलनमा लगाइएको छ । सयुक्त पत्रकार सम्मेलनमा सरकारलाई जनविरोधी कामहरु तत्काल सच्याउन तथा संघीय सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियुका उपमहासचिव भाष्कर खनाल, युवासंघका नेता मुकेश बुढाथोकी, नविन पौडेललगायतका नेताहरुले मागको सुनुवाई नभए जस्तोसुकै आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।

यसैबिच पत्रकार सम्मेलनसँगै मन्त्रालय फुटाउन पाइदैन, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, मूल्यबृद्धि नियन्त्रण गर, कृषकलाई मलखाद तत्काल व्यवस्था गरलगायतका नारा लगाइएको थियो ।

https://fb.watch/aUOR_thd_5/

Back to top button