‘सन्चै छु’ एक महिनामा घर आउँछु भनेर फेसबुकमा म्यासेज आउँथ्यो तर उखुबारीको खाल्डोमा सडेको अवस्थामा भेटियो शव

विराटनगर । सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरी गत मंसिर २७ गते विराटनगर जान काठमाडौंबाट हिंडनु भएको थियो । काठमाडौंको क्षेत्रपाटी बस्दै आउनु भएको उहाँको गत बुधवार मोरङको धनपालथान–७ बोर्डिङ टोलस्थित उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा शव भेटियो ।

खाल्डो खनेर गाडेको अवस्थामा २ जना पुरुषको शव फेला परेको थियो । दुवै जनाको पहिचान भए पनि घटना रहस्यमै छ ।

चौधरीले मंसिर २९ गते ‘विराटनगरको होटलमा छु’ भनेर फोन गरेको उनकी पत्नी अम्बिका चौधरीले बताउनु भयो।

‘विराटनगरमा जग्गा किन्ने भनेर हामीसँग २ लाख ८० हजार रुपैयाँ माग्नुभयो । आईएमई गरेर पैसा पनि पठायौं,’ उहाँले भन्नु भयो ।

गत पुस २ गते आईएमई गरेर पैसा पठाएको उहाँले बताउनु भयो । । ‘पुस ४ गते रातिसम्म फोनमा कुराकानी भएको थियो, १ हप्तामा घर आउने भनेर भन्नुभएको थियो,’ उहाँले भन्नुभयो , ‘पुस ५ गतेदेखि सम्पर्क हुन छाड्यो ।’

त्यसपछि फोन गर्दा नउठ्ने तर फेसबूकमा म्यासेज मात्रै आउने भएको उहाँले बताउनु भयोृ । ‘दिनमा १५ मिनेट जति डाटा अन हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘म्यासेन्जरमा कल गर्दा पनि उठ्दैन्थ्यो । जति रिङ गए पनि फोन नउठने तर ‘म सञ्चै छु, १ महिनापछि आउँछु’ भनेर म्यासेज आउँथ्यो ।’

फोन नउठ्ने र म्यासेन्जरमा म्यासेज मात्रै आउन थालेपछि मनमा चिसो पसेको उहाँले बताउनु भयो । ‘म्यासेज मात्रै आउन थालेपछि उहाँको साथीसँग सम्पर्क गर्न खोजें, साथीको जवाफ पनि फरक आयो,’ उहाँले भन्नुभयो , ‘शव भेटियो भनेपछि उहाँको साथीसँग पनि सम्पर्क भएको छैन ।’

शम्भुका ससुरा शम्भुनारायण चौधरीले भन्नुभयो , ‘कांठमाडौंबाट विराटनगर जाँदा पनि उहाँकै साथीले गाडी खोजिदिनुभएको रहेछ, त्यही गाडीमा आउँदा बीच बाटोबाट गाडीले छाडेकाले भाइलाई फोन गरेर बोलाउनुभयो र भाइले सप्तकोशीको पुल पारी पुर्‍याएर गाडीलाई रोकेर पठाइदिएको रहेछ ।’

शम्भुका ८ वर्षका १ छोरा तथा ६ वर्ष र ३ वर्षका २ छोरी छन् । शम्भुले ठेक्कापट्टा तथा जग्गा कारोबार गर्ने गरेका परिवारले जनाएको छ । शम्भुसँग २ वटा मोबाइल, सुनको सिक्री, काठ मिलको लाइसेन्स रहेको जनाइएको छ ।

उखुबारीमा फेला परेको अर्को शव सुनसरीको धरान–३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको छ । प्रहरीले उहँको साथबाट एनटीसीको सीमकार्ड, पर्स र सवारीचालक अनुमतिपत्र पनि फेला परेको छ ।

किसानले उखु काट्ने क्रममा खाल्डो खनेर पुरेको अवस्थामा शव देखेका थिए । शंकास्पद खाल्डो भेटिएपछि किसानले प्रहरीलाई खबर गरेको र प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटेको थियो ।

श्रेष्ठका पत्नी, २६ र २५ वर्षीय २ छोरा तथा ११ वर्षीया छोरी छन् । उनी ‘व्यवहार मिलाउनु छ’ भन्दै भक्तपुरदेखि गत मंसिर ४ गते ‘धरान जान्छु’ भनेर घरबाट हिँडेका दाइ चन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठले २५ वर्षअघि धरानमा सुन पसल खोल्नु भएको थियो । सुन पसल घाटामा गएपछि उहाँँ जापान जानु भएको थियो । जापानबाट आएर उहाँले ले काठमाडौंमा इलेक्ट्रोनिक पसल संचालन गर्नु भएको थियो । पछिल्लो समय उहाँ जग्गाको कारोबार गर्नेगर्नु हुन्थ्यो ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उहाँले बताएउनु भयो । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

मोरङको धनपालथान–७ बोर्डिङ टोलस्थित उखुबारीमा हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा राजेन्द्र र शम्भुको शव फेला परेको हो ।

घटनास्थल बस्तीबाट करीब ५०० मिटर टाढा पर्छ । एकान्त भएका कारणले हत्याराले शव गाड्न सहजै उखुबारी प्रयोग गरेको प्रहरीको निष्कर्ष छ ।

मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले झापा, काठमाडौं र धरानमा विशेष रूपमा प्रहरी परिचालन गरी अनुसन्धान गरिरहेको बताउनु भएको छ। हत्यामा साथिहरुकै संल्गनता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Back to top button