आज सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाईदैं

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष शुरु हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्वागत गरिँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।ल्होसारका १२ वटै वर्ग पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पा बताउँनुहुन्छ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो।

नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरकफरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

Back to top button