आज विश्व सिमसार दिवस, विविध कार्यक्रम गरि मनाईदै

विराटनगर । आज विश्व सिमसार दिवस । हरेक वर्ष फेब्रुअरी २ मा यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा यस वर्ष नेपालमा ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ भन्ने नारा तय गरिएको छ।

सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो। सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ। सरकारी तथ्यांकअनुसार नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ।

विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा १ सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन्। सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो। सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको विज्ञ रामचन्द्र अधिकारी बताउनुहुन्छ ।

नेपालमा पाइने १ सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन्। यसैगरी नेपालमा पाइने ८ सय ७८ प्रजातिका चरामध्ये १ सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन्।

यस्तै २ सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन्। विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि २ फेब्रुअरी १९७१ मा इरानको रामसार सहरमा भएको थियो। सोहि दिनको स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन थालिएको हो ।

सन् १९८७ डिसेम्बर १७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र भएको हो।

रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन्।

Back to top button