सोनाम ल्होसारमा मुख्यमन्त्री राईको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तामाङ जातिको महान चाँड सोनाम ल्होसारको अवसरमा सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताउनुभएको छ ।

‘हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस्’ जारी सन्देशमा भनिएको छ ।

माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ जातिको नयाँ वर्ष हो । प्रकृति पूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा आफ्ना कुल र प्रकृतिको पूजा गर्दछन् ।

ल्होसारका दिन यो समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने चलन छ । सोनाम ल्होसारका अवसरमा घर–आँगन सफा गरी बुद्धका चित्रहरू अंकित ध्वजापताका टाँगेर पूजाअर्चना गर्ने गरिन्छ ।

यस्तै परम्परागत पहिरनमा सजिएर एकै ठाउँमा भेला भई तामाङ सेलो गाएर नाँचगान समेत गरिन्छ ।

Back to top button