एक करोड मूल्यको सुन र मोवाइलसहित ३ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन र मोवाइलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक किलो १ सय ५५ ग्राम सुन र चार वटा मोबाइलसहित ३ जनालाई आज पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो।

यस्तै, प्रहरीले साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सुन र मोवाइलको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको प्रहरीले जनाएको छ।

Back to top button