सेना दिवसमा प्रधानसेनापति खुला म्याराथन हुने

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ।

‘मनोरञ्जनका लागि खेलः एकता, सामूहिक भावना र सामर्थ्य’ भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न म्याराथन विधालाई समावेश गरिने भएको छ ।

नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आज पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । प्रतियोगितामा ४२ दशमलव १९५ कि.मी. पुरुष म्याराथन तथा २१ किमी महिला र पुरुष हाफ म्याराथन गर्न लागिएको केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभएको छ ।

सैनिक अधिकृत र सैनिक सहचारी महिला र पुरुषको सहभागितामा १० कि.मी. दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित ५ कि.मी. वाकाथन गरिने छ ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

हाफ म्याराथनमा पहिला, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगर पुरस्कार प्रदान गरिनेछ। म्याराथनमा प्रथम हुनेलाई सिसिक अटोमोबाइल प्रा.लि.ले यामाहा मोटरसाइकल तथा काठमाडौँ महानगरपालिकाले स्पोन्सरस्वरुप हाफ म्याराथनकी विजयी महिला धावकलाई स्कुटर प्रदान गरिनेछ ।

म्याराथनमा द्वितीय हुने र हाफ म्याराथनमा प्रथम हुने पुरुष धावकलाई पुरस्कारस्वरुप मोटरसाइकल उपलब्ध हुनेछ। ती सबै प्रतियोगितामा करिब एक हजार १ सय ५० धावकको सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा भाग लिन चाहनेलाई व्यक्तिगत र सस्थागतरूपमा भोलीदेखि नाम दर्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ। प्रतियोगितामा रक्षा मन्त्रालय, युवा तथा खेलकुद, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, पत्रकार खेलकुद मञ्चका धावक प्रतिनिधि तथा अन्य आमन्त्रितले भाग लिनेछन्।

सेनाले मनोरञ्जनका लागि खेल नामाकरण गरी ‘एकता नै बल हो, आउनुस् खेलका माध्यमबाट हातेमालो गरौँ’ भन्ने नाराका साथ विसं २०७२ बाट प्रतियोगिता आरम्भ गरेको हो। पत्रकार सम्मेलनमा नेपाल एथ्लेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले सेनाबिनाको खेल अपूरो रहने भएकाले सङ्घले सेनाका खेल गतिविधिमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

Back to top button