मधेसमा हावाहुरीका कारण ३ जनाको मृत्यु, प्रदेशसभा वार्षिकोत्सव समारोह स्थगित

जनकपुरधाम । हावाहुरीका कारण मधेस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । आज आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटगरि ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेकी छन् । धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द मा.वि. परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । दुबै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–१ मा हावा हुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । मृतक फुलमतिया देवीको घरमा रहेका बाख्रा समेत मरेका छन् ।

हावा हुरीका कारण मधेश प्रदेशसभाको चौथो वार्षिकोत्सव समारोह समेत स्थगित भएको छ ।

Back to top button