प्युठानमा जन्ती जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उहाँकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् ।

त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहनुभएको छ । बेहुला र बेहुली भने घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Back to top button