प्रदेश १ मा मन्त्रीपरिषद विस्तारको तयारी, विरोधमा अनेरास्ववियुको प्रदर्शन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेकोमा एमाले नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले सडकमा विरोध प्रदर्शन गरिरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले गत आइतबार मन्त्रालयको संख्या ७ बाट बढाएर १२ पुर्‍याएको थियो ।

तर, आज एउटा अझै थपेर मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ । मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तारका लागि ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेको छन् ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ। माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामीको नाम मन्त्री बन्नेमा छ।

एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु र उपेन्द्र घिमिरेको नाम छ। यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापा नाम रहेको स्रोतले बताएको छ।

Back to top button