१४ सदस्यीय मन्त्रीमण्डल बन्दा पनि समेटिएनन् दलित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १४ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको छ । आइतवार मात्रै उहाँले आठ मन्त्री थप्नु भएको छ । उहाँले थप गर्दा समेत एक जना पनि दलितलाई मन्त्रिमण्डलमा भने समेट्न सक्नु भएन ।

मुख्यमन्त्री राईले सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा (लिम्बू), कृषि मन्त्री झलकबहादुर मगर, वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापा, उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावागी र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्त गरेर शपथ गराउनु भएको छ ।

यसअघि मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्रबहादुर आङबो, सडक, पूर्वाधार तथा शहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरीसक्नु भएको थियो ।

गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । आइतवार थप एक मन्त्रालय थपेर १३ बनाइएको छ ।

मन्त्रालय थप गरेर विस्तार गर्दा समेत सरकारले दलितलाई भने समेटेन । मन्त्रिपरिषद्मा महिलातर्फ एक मन्त्री र एक राज्यमन्त्री मात्रै समेटिएका छन् ।

तर, सरकारकै मन्त्रीहरू भने अझै मन्त्री थप गरेर उनीहरूलाई समेट्ने बताएका छन् ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संविधानअनुसार अझै मन्त्रीको संख्या बढाउन मिल्ने दाबी गर्नु भएके छ । उहाँले भन्नुभयो , ‘सबैलाई समेट्ने गरेर फेरि सरकार विस्तार गर्न सक्छौँ ।’

Back to top button