भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक घट्दै

काठमाडौं । भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या दैनिक घट्दै गएको छ ।

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको हिजो नै पहिलो पटक हो ।

कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो । संघीय स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ९९ हजार ५४ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बर भन्दा बढी रहेको छ ।

त्यसैले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या ११ लाख ८ हजार ९ सय ३८ रहेको मन्त्रालयले जनाएको छ । उनीहरुका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८ सय ९५ जनाको मृत्यु भएको छ ।

Back to top button