भारतीय धार्मीक सिरियल ‘महाभारतका भीम’को निधन

विराटनगर । भारतीय टेलिभिजन दुरदर्शनमा प्रशारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन भएको छ । ७४ वर्षको उमेरमा उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महाभारत धारवाहिकबाहेक उहाँले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गर्नुभएको थियो । अघिल्लो वर्ष एक मिडियालाई दिएको अन्तरवार्तामा प्रविणले आफू लामो समयदेखि घरमा नै भएको बताउनुभएको थियो ।

स्वास्थ्य अवस्था ठिक नभएका कारण डाक्टरले पनि खानामा विभिन्न खालका प्रतिबन्ध लगाएको उहाँको भनाई थियो । उहाँले आफूलाई मेरुदण्डमा समस्या रहेको र श्रीमती विणाले आफ्नो हेरविचार गर्दै आएको बताउनुभएको थियो ।

उहाँको निधनमा धारावाहिकमा युधिष्ठिरको भूमिका निभाउने गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ’आज बिहानै एक दुःखद समाचार पाएँ । मेरा महाभारतका भाइ प्रविण कुमारजीले हामी सबैलाई छोडेर अनन्त यात्रामा निस्किएका छन् । विश्वास लागिरहेको छैन । तपाईं सधैँ स्मरणमा रहिरहनु हुनेछ ।’

Back to top button