स्पष्टीकरण बारे मलाई जानकारी छैन : सदस्य सचिव बस्नेत

विराटनगर । प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव परशुराम (कृष्ण) बस्नेतलाई सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । ३ दिनअघि मन्त्री भएका सामाजिक विकास मन्त्री राजन राईले उहाँलाई मंगलवार स्पष्टीकरण सोध्नु भएको हो ।
भीम आचार्य नेतृत्वको सरकारले बस्नेतलाई खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गर्नु भएको थियो । राजेन्द्र राई नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकबाटै आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयले बस्नेतलाई हटाउने प्रक्रिया सुरु गरेको जनाइएको छ । बस्नेतको नियुक्तिमै प्रश्न उठाउँदै ३ दिनभित्र प्रस्टीकरण पेस गर्ने गरि मन्त्री राईले स्पष्टीकरण सोध्नु भएको हो ।
मापदण्ड पूरा नगरेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै बस्नेतलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।खेलकुदको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ । योग्यता नपुगेको र विवादास्पद व्यक्ति भएको भन्दै प्रष्टीकरण सोधिएको मन्त्रालयका एक कर्मचारीले बताएका छन् । यता सदस्य सचिव बस्नेतले भने आफूलाई औपचारिक जानकारी नआएको भन्दै सरकारले प्रतिशोध साँध्नकै लागि स्पष्टीकरण सोध्छ भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिनु भएको छ । कोशिसन्देस सँग कुराकानी गर्दै उहाँले आफू काठमाडौँमा रहेको र अहिले सम्म कुनै औपचारिक जानकारी नआएको बताउनु भएकोछ ।

Back to top button