मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन परिणाम देखिने गरी काम गर्नुहोस

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री तथा कर्मचारीलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले भन्नुभयो , ‘बिरालो कालो होस् कि सेता होस् तर मुसा मार्नुपर्‍यो ।’

सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउने गरी कर्मचारीलाई काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि उहाँले मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयनका क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई समेत निर्देशन दिनु भएको छ। सरकारले काम गर्न नसकेको भनेर गुनासो आइरहेका बेला मुख्यमन्त्री राईले मन्त्री तथा कर्मचारीलाई कडा निर्देशन दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पादनबाटै जवाफ दिनुपर्ने बताउनु भयो ।

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई र गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य गर्न समेत निर्देशन दिनुभयो ।

प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरूप काम गर्नका लागि आवश्यक तादाम्यता मिलाउन सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

Back to top button