लागू औषधसहित तीन जना पक्राउ

सुर्खेत  । सुर्खेत जिल्लाको वीरेन्द्रनगरबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरी चौकी सुब्बाकुना सुर्खेतले बुधवार दिउँसो एक बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पिपिरा चोकमा रहेको एक फेन्सी पसलमा लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ११ का पसल सञ्चालक ४६ वर्षीय लीलाराम पुरी, २४ वर्षीय महेश सुनार र २२ वर्षीय गौरव सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सुब्बाकुना र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले फेन्सी पसलमा चेक जाँच गरेको थियो । प्रहरीले पसलबाट लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिक सहित ३०० मिलिग्राम, शुद्ध २०० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ । तीनैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

Back to top button