दूधको मूल्य १० रुपैयाँले बढाउँदै किसान

पर्वत । कास्कीका कृषकहरूले आउँदो फागुन १ गतेदेखि दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गर्ने भएका छन्।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँको दरले बढाउन सिफारिस गरेको भन्दै कास्कीका किसानले दूध तथा दुग्धजन्य पदार्थको मूल्य बढाउने भएका हुन्।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपाल कास्कीले यो निर्णय गरेको हो।

यसअघि उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य बढाउने निर्णय १८ माघमा बोर्डले गरेको थियो। किसानहरूले व्यावसायिक उत्पादन लागतको मूल्यमा वृद्धि भएकाले दूधको मूल्य बढाउनुपरेको बताएका छन्।

अब फागुनदेखि उपभोक्ताले भैँसीको दूध प्रतिलिटर १ सय ३० रुपैयाँ, गाईको दूध प्रतिलिटर १ सय रुपैयाँ, दही प्रतिलिटर १ सय ४० रुपैयाँ, पनिर प्रतिकेजी ८ सय रुपैयाँ, घ्यु प्रतिलिटर १२ सय रुपैयाँ र नौनी प्रतिकिलो १ हजारमा खरिद गर्नुपर्ने छ।

किसानको व्यावसायिक उत्पादनमा पर्ने लागत मूल्य वृद्धिका कारण दूधको मूल्य समायोजन गर्नुपरेको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो ।

‘बाध्यतावश दूध र दुग्धजन्य पदार्थको मूल्य वृद्धि गर्नु परेको हो। किसानहरूलाई दुग्ध व्यवसाय सञ्चालन गर्न गाह्रो भइरहेको छ। बिहान–बेलुका दूध बेचेर जीवन निर्वाह गर्ने किसानको लागि सरकार चिन्तित देखिएन,’ उहाँले भन्नुभयो, ‘पशुलाई खुवाउने दाना, चोकर सबैको मूल्य आकासिएको छ।

यस्तै, कास्कीको पोखरा महानगरपालिकाको बजारमा दैनिक ४९ हजार लिटर दूधको माग हुने गरेको छ। तर, पोखरा आसपास क्षेत्रमा २३ हजार लिटर दूध उत्पादन हुने गर्छ।

१३ हजार लिटर दूध सहकारीहरूले उत्पादन गर्दै आएका छन्। पोखरामा कपिलवस्तुलगायत जिल्लाहरूबाट दैनिक १० हजार लिटर दूध आयात हुँदै आएको छ। तर पनि अझै दूधको अभाव भइरहेको अध्यक्ष तिमिल्सिले बताउँनुभयो ।

Back to top button