एमसीसी पारित गर्ने निष्कर्षमा कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बिहीबार बसेको बैठकले संसदबाट एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी बहुमतले पारित हुने बताउनु भएको छ । बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताउनु भयो ।

उहाँले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने पनि बताउनु भयो । उहाँले भन्नु भयो ‘एमसीसी सभामुखले रोक्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । सभामुखको काम सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो ।त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’

उहाँले एमसीसीबारे अन्योल समाप्त गरेर संसद्‌मा लैजानु पर्ने निष्कर्ष रहेको बताउनु भयो । त्यस्तै बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने निर्णय गरेको छ । साथै भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएकाले कहिले निर्वाचन गर्ने भन्नेबारेमा छलफल भएको छ ।

Back to top button