स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण आज उद्घाटन हुँदै

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा गर्न लागेको ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ को आज अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।

अध्यक्ष ओलीले कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने उक्त कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ भने मधेस प्रदेशको फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेश– फागुन ६ र ७ गते काठमाडौंमा हुनेछ ।

त्यसैगरी गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवल, दाङ, कर्णाली प्रदेशको फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुने भएको छ ।

Back to top button