नयाँ पार्टीको मुल एजेण्डा हिन्दु राष्ट्र हुन्छः कमल थापा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी गठनको तयारीमा जुट्नुभएका नेता कमल थापाले आफ्नो पार्टीको मुल एजेन्डा हिन्दु राष्ट्र हुने बताउनुभएको छ ।

नयाँ पार्टी गठनका बिषयमा सुझाव संकलनको अभियानमा लाग्नुभएका नेता थापाले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीको मुख्य एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने बताउनुभएको हो ।

आफुले नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था सृजना भएको भन्दै उहाँले फागुनको पहिलो साताभित्रै हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन हुने बताउनुभयो ।

राजसंस्थालाई भने पार्टीको एजेण्डा बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको थापाले बताउनुभयो । अहिले चर्चामा रहेको एमसीसीको सन्दर्भमा भने नेता थापाले एमसीसी आफैंमा आपत्तिजनक नभएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो,‘एमसीसी आफैमा आपत्तिजनक हैन, तर यसका बिषयमा उठेको आशङ्का र प्रश्नहरुको भने हल गर्नुपर्ने बताउनुभयो ।

Back to top button