विद्यालयको सेफ्टि ट्याकींमा खसेर बालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानस्थित बीपी आधारभूत विद्यालयको शौचालयको सेफ्टि ट्याकींमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको मृत्यु भएको हो ।

शौचालयको खुल्ला रहेको सेफ्टि ट्याकींमा खेमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विद्यालय अगाडि चियानास्ताको पसल गर्दै आएकी सन्तोषकी पत्नी जमुनादेवी हिजो बेलुका विद्यालयको शौचालय जानुभएको थियो ।

सोहि क्रममा पछिपछि गएका उहाँका छोरा ट्यांकीमा खसेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

जमुनादेवीले छोराको खोजी गर्ने क्रममा एउटा चप्पल सेफ्टि ट्याकीं भित्र र अर्को बाहिर देखेपछि होहल्ला गर्नुभएको थियो । होहल्लापछि भेला भएका स्थानीयले ५ फिट गहिरो रिङको सेफ्टि ट्याकींबाट बालकलाई अचेत अवस्थामा निकालिएको थियो ।

तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएपनि बालकको उपचारका क्रममा नै मृत्यु भएको हो । विद्यालयमा महिला र पुरुष गरी दुई वटा रहेको शौचालय रहेका छन् ।

ति मध्ये महिला शौचालयको सेफ्टि ट्याकींको ढक्कन स्थानीय केहि युवाहरुले फुटाएपछि खुल्ला नै रहेको थियो । विद्यालयका प्रधानाध्यापक सञ्जिव राजवंशीले लगाएको एक महिना बित्न नपाउँदै केहि युवाहरुले ढक्कन फुटाइदिएको र लगाउने तयारी गरिरहेकैबेला अप्रिय घटना घट्नु दुःखद भएको बताउनुभयो ।

Back to top button