आगामी निर्वाचनलाई प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र बनाउन र मतदाताको सहभागिता बढाउने उद्देश्यका साथ सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कामका बिषयमा छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रमुखसँग आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनबारे छलफल गरेको हो ।

स्थानीय तह निर्वाचनलाई प्रभावकारी बनाउन सार्वजनिक सञ्चार माध्यममार्फत गरिने क्रियाकलापलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर आज छलफल भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न, मतदातालाई मतदातालाई मतदानका लागि उत्प्रेरित गर्न, सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले आयोगले यो काम आफैँले गर्न नसक्ने भन्दै सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनसम्बन्धी सूचना, समाचार र विचारलाई अहिले भइरहेको नियमित प्रणालीबाट प्रयोग बढाउन, वार्षिक बजेट र कार्यक्रमबाटै निर्वाचनमुखी कार्यक्रम गर्न सुझाव दिँदै आयोगले निर्वाचनलाई लक्षित गरी मतदाता प्रोत्साहन हुने र निर्वाचनको वातावरण बनाउने कार्यक्रम गर्न आवश्यक पर्ने वित्तीय पक्षबारे जानकारी माग गरेको छ।

निर्वाचनका लागि आयोग बजेट तर्जूमा गर्ने चरणमा रहेको छ । कानून र स्थानीय तहको संरचना अनुसार स्थानीय तहमा प्रत्यक्ष निर्वाचित ३५ हजार २ सय २१ प्रतिनिधि आगामी निर्वाचनबाट निर्वाचित भएर आउने छन् भने स्थानीय तहको सभाका लागि थप ४ हजार ९ सय ६८ जनप्रतिनिधिको पनि चयन हुनेछ।

सार्वजनिक सञ्चार माध्यमका क्रियाकलापलाई निर्वाचनमुखी र केन्द्रित तुल्याउन सुझाव दिँदै आयोगले मुलुकमा स्थापना हुने करिब १२ हजार मतदान स्थलमा प्रविधिका माध्यमबाट दस्तावेजीकरण गर्न सकिने व्यवस्था मिलाउन दूरसञ्चार प्रदायक निकायलाई निर्देशन दिइएको छ ।

आयोगले गलत, भ्रामक र मिथ्या समाचारको प्रयोग रोक्न निर्वाचनमा सामाजिक सञ्जालको उपयोगको विषय अत्यन्त गम्भीररूपमा लिएर व्यवस्थापनका लागि नीतिको खाका तयार गरेको छ।

सबै सञ्चार माध्यम कम्प्युटर खोल्नासाथ निर्वाचनसम्बन्धी सन्देश र सूचना आउने व्यवस्था मिलाउन तथा देश विदेशमा निर्वाचनसम्बन्धी भइरहेका प्रचारप्रसारका गतिविधि अध्ययन गरी आ–आफ्ना सञ्चार माध्यमबाट निर्वाचनको वातावरणको तरङ्ग ल्याउन सुझाव दिइएको छ ।

यसअघि छलफलमा सार्वजनिक सञ्चार माध्यमलगायत संस्थानका प्रमुखले आ–आफना संस्थाबाट प्रदान गरिँदै आएका विविध सेवा र साधनस्रोतबारे जानकारी दिँदै राष्ट्रकै प्राथमिकतामा रहेको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन कर्तव्य र दायित्वलाई हरसम्भव पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ र महाप्रबन्धक सिद्धराज राईले राससको सबै जिल्ला र स्थानीय तहमा समेत संयन्त्र रहेकाले निर्वाचनसम्बन्धी समाचार र सूचना सहजरूपमा सञ्चार माध्यमलाई उपलब्ध गराउन भरमग्दुर कोशिस गर्ने विश्वास दिलाउनुभयो ।

छलफलमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, काउन्सिल, विज्ञापन बोर्डलगायतका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

Back to top button