प्रचण्डका झिल्केमिल्के कुराले देशलाई गम्भिर नोक्सान हुनसक्छ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे झिल्केमिल्के अभिव्यक्ति दिने गरेको टिप्पणी गर्नुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर प्रचण्ड देशलाई गम्भीर नोक्सान पुर्‍याउने काममा उद्धत रहेको बताउनुभएको हो ।

आज काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उहाँले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर प्रचण्डले फट्याईं गरिरहेको आरोप लगाउनुभयो।

उहाँले यस्ता अभिव्यक्तिले देशलाई गम्भीर नोक्सान पुर्‍याउन सक्ने भन्दै जनताले यस्ता नेता चिन्नसक्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाईमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीयबासीलाई आग्रह गर्नुभयो।

Back to top button