मनषा थाईफुड्समा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आउन सकेन

बिर्तामोड । मेचीनगर नगरपालिका– १४ दुवागढीस्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

बिहान साढे ४ बजे लागेको आगो दिउँसो ३ बजेसम्म पनि पूर्ण नियन्त्रणमा आइ नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नयाब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको पनि एकिन विवरण आई सकेको छैन । आगो निभाउन विभिन्न जिल्लाका १५ वटा दमकल परिचालन गरिएको छ ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, तयारी चाउचाउ, मेसिनरी औजार र भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, सर्वसाधारणलगायतले सहयोग गरिरहेका छन् ।

प्रहरी नायव उपरीक्षक पाठकका अनुसार दनदनी बलेको आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्नेछ। एक अर्बको लगानीमा २०७५ असोजमा उद्योगको स्थापना भएको थियो ।

उद्योगमा स्वर्गीय परशुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, बुद्धि घिमिरे, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गर्नुभएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले कुनै पनि सामान जोगाउन नसकिएको बताउनुभयो ।

Back to top button