जनकपुरमा आजदेखि खाली रेल चलाइँदै

जानकपुरधाम। आजदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म विनायात्रु रेल सञ्चालन गरिने भएको छ।

सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि दैनिक एकपटक खाली रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताउनुभयो । उहाँले १० दिनसम्म एकपटक आउने र जाने गरी रेल सञ्चालन गरिने बताउनुभयो ।

उहाँका अनुसार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेलको उद्घघाटन गर्नुहुनेछ । आजदेखि नियमित रूपमा दैनिक एक पटक जनकपुरधामको मुख्य स्टेशन (कुर्था)–जयनगरसम्म रेल ओहोरदोहोर गर्नेछ।

रेल सञ्चालन गर्न चालकसहितका प्राविधिक कर्मचारीका लागि भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटूजी सम्झौता भएको पनि महाप्रबन्धक झाले बताउनुभयो ।

नेपाल सरकारले दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो। खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनर्वा स्टेशनमा सञ्चालन नगरी राखिएको थियो।

Back to top button