दीपकुमार कार्की कायमुकायम प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतको कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीले सम्हाल्ने हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै उहाँ निलम्बनमा पर्नुभएको छ ।

जबरा निलम्बनमा परेपछि वरिष्ठतम्‌का आधारमा कार्कीले कायममुकायमको जिम्मेवारी सम्हाल्ने हुनुभएको हो । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि यसको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने उल्लेख छ। वरिष्ठतम् न्यायाधीश स्वतः कायममुकायम प्राधानन्यायधीशको रुपमा कायम हुने प्रावधान छ।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले २१ बुँदे आरोप लगाउँदै जबराविरूद्ध ९८ सांसदको हस्ताक्षरसहित महाभियोग दर्ता गरेका छन्। महाभियोगको पत्र बुझेलगत्तै स्वतः निलम्वनमा परेपछि जबरा अदालतबाट बाहिरिनुभएको छ ।

Back to top button