सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

महाअभियोग दर्ता भएपछि महाअभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने जानकारी दिनुभयो ।

‘एमाले त्यो बैठकमा जाँदैन,’ उहाँले भन्नुभयो,‘सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ हुदैन ।’

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ । ‘सभामुख स्वयंकाविरुद्ध महाअभियोग जाने सम्भावना छ । त्यो प्रक्रिया आजै बस्ने संसदीय दलको बैठकपछि अघि बढ्नसक्छ’, एमाले अध्यक्ष केपी ओली निकट एक नेताले भन्नुभयो ।

आज बस्ने नेकपा एमालेको संसदीय दलको बैठकपछि सभामुखका विरुद्ध महाअभियोग प्रसताव अघि बढ्न सक्ने तर्फ संकेत गर्दै एक नेताले भन्नुभयो,‘सभामुख कुनै एक पार्टीको प्रवक्ताजस्तो भएको अवस्था छ । उहाँको यस्तो व्यवहारले सदनको गरिमा उचो बन्न सक्दैन ।’

हिजो साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निश्कर्ष निकालेको थियो । त्यस्तै उसले उक्त कदमको प्रतिवाद गर्ने निर्णय समेत गरेको थियो ।

Back to top button