आज नेपालले आयरल्याण्डको सामना गर्ने

काठमाडौं । ओमानमा भइरहेको चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को तयारी स्वरुप सिरिज आयोजना भएको हो । यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो । नेपालले आयरल्याण्डसँग यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २०१५ मा आयरल्याण्डमै भएको टी–२० विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टी–२० सिरिजमा आयरल्याण्डले नेपाललाई १३ रनले हराएको थियो ।

यसैबिच आजै मध्यान्न ओमान र युएईबिचको खेल हुनेछ । ग्लोबल क्वालिफायर अघि चारै टिमलाई आफ्नो अन्तिम तयारी गर्ने मौका छ । नेपालको लागि पनि आफ्नो टिम सेट गर्ने अवसर छ ।

यसअघिका दुई खेलमा नेपालले तीन नयाँ खेलाडीलाई प्रयोग गर्दै अवसर दिइसकेको छ । यस्तै ३ खेलाडीले पुनरागमन पनि गरेका छन् । राष्ट्रिय टिमका नियमित सदस्य कुशल भुर्तेल, करण केसी र कुशल मल्लले ओमानमा खेलेका छैनन् । उनीहरुले आयरल्याण्डसँग खेल्ने सम्भावना पनि छ ।

यस खेलपछि नै नेपालले ग्लोबल क्वालिफायरका लागि अन्तिम टोली छनोट गर्नेछ । त्यसैले खेलाडीको लागि पनि आज आफ्नो प्रदर्शन देखाउने अवसर रहनेछ । नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् ।

Back to top button