धौलागिरी लघुवित्त आईपीओ जारी गर्ने तयारीमा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

आईपीओ जारी गर्न यस अघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । धौलागिरी लघुवित्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको इजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आइरहेको संस्था हो ।

यसले नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरू मार्फत कुल १ सय ९१ जना कर्मचारी परिचालन गरेको छ । सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ एक अर्ब ४४ करोड, निक्षेप संकलनतर्फ ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पुँजी सात करोड रहेकोमा सार्वजनिक शेयर निष्कासन भए पश्चात् १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरू तर्फ कुल १० करोड ३८ लाख रहेको छ । आर्थिक वर्ष २०७७/०७८ को आषाढ मसान्तसम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा दुई करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आइपुग्दा उक्त वितरण योग्य मुनाफा ४ करोड ९ लाख पुगेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मसान्तमा प्रतिशेयर आम्दानी ५० दशमलव १२ भन्दा बढी कायम गरेकोमा पुस मसान्तसम्ममा आइपुग्दा ६१ दशमलव ४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिनुभयो ।

Back to top button