एमाले महाअभियोगको प्रस्तावलाई लिएर द्धन्द्ध बढाउने पक्षमा छैनः शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आफ्नो पार्टी प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा पार्टीको संसदीय दलको बैठकमा सहभागी हुन पुग्नुभएका नेता तामाङले महाअभियोगको प्रस्तावको बारेमा एमालेले द्वन्द्व बढाउने पक्षमा नरहेको बताउनुभएको हो ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदले हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

यसपछि उत्पन्न राजनीतिक अवस्थाको बारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ । तर, यसबारे एमाले द्वन्द्व बढाउने पक्षमा नरहेको नेता तामाङले बताउनुभयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने सक्ने नेता तामाङको विश्वास छ । साथै दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित गर्न आदेश दिएका सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव नल्याउने बताउनुभयो ।

सांसदहरूको हस्ताक्षर संकलन गरिएपनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव भने नल्याइने नेता तामाङले बताउनुभएको छ ।

Back to top button