एमालेले आवेग र उत्तेजनामा निर्णय गर्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आवेग र उत्तेजनाका आधारमा निर्णय नलिने बताउनुभएको छ ।

प्रधानन्यायाधिश महाअभियोग प्रकरणपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी आवेश र उत्तेजनामा आएर निर्णय गर्दैनौं, नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन्छ ।’

अध्यक्ष ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताउनुभएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताउनुभएको हो ।

उहाँले मुलुकमा अस्थिरता निम्त्याउन र स्थानीय चुनाव सार्ने योजना अनुरुप गठबन्धनले यस्तो षड्यन्त्र गरेको आरोप समेत लगाउनुभयो ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आइतबार संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

महाभियोग प्रस्ताव दर्ता गरेपछि आक्रोशित एमालेले ‘काउन्टर’का लागि सर्वोच्च अदालतका चार न्यायाधीश (जसले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेका थिए) लाई महाअभियोग लगाउने चर्चा चलिरहेका बेला अध्यक्ष ओलीबाट संयमित अभिव्यक्ति आएको हो ।

हिजो साँझ पार्टी अध्यक्ष ओली निवास बालकोटमा बसेको सचिवालयका सदस्यहरूको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो।

Back to top button